Thursday, February 16, 2012

कामवासना र प्रेम


हाम्रा ऋषिमुनि र गुरुहरूले कामवासनालाई सधैं हेयको दृष्टिले हेरे। उनीहरूले के बुझेनन् भने उनीहरू जसका कारणले जन्मिए, त्यसैलाई गाली गरिरहेका छन्। कामवासना बिनासृष्टि चल्दैन। यो ईश्वरद्वारा मानवलाई दिएको सर्वोत्तम उपहार हो। कामवासना प्रेमको अंश हो। यदि कामवासनाबाट प्रेम हटाइदिने हो भने त्यो कुरूप बन्न पुग्छ। प्रेमले सेक्सलाई सौन्दर्यबोध गराइदिन्छ। मात्र सेक्स प्लास्टिकको फूल हो भने प्रेमयुक्त सेक्स बगैंचामा फूलेको प्राकृतिक फूल हो। सेक्सका सम्बन्धमा एउटा रमाइलो कुरा छ। जो प्रेमले ओतप्रोत भएको सेक्स छ, त्यो उज्यालोमा सम्भव छैन। कुनै पनि प्रेमवान व्यक्तिले उज्यालोमा यो क्रिया सम्पन्न गर्ने प्रयास गर्दैन। पशु वा पशुतुल्य मानिस मात्र उज्यालोमा सेक्सको चाहना राख्छन्। प्रेमयुक्त सेक्स त्यसबेला सम्भव छ, जव प्रेमका सबै तह पार हुन्छन् र त्यसभन्दा अझ उज्यालोमा जान ती जोडी प्रयत्नशील हुन्छन्। रात्री, एकान्त एवं सम्पूर्णताको अनुभूति प्राप्त गर्न सेक्स गरिन्छ, उज्यालोमा भय प्रकट हुन्छ। प्रेममा भय ? यो साह्रै असुहाउँदो शब्द हुन जान्छ। यदि सेक्समा कुनै पनि अंशमा भय वा अन्य कुनै पक्ष हाबी भयो भने त्यसमा प्रेम छैन भन्ने बुझे हुन्छ। 

कुनै पनि स्त्री खुला आँखाले सेक्स गर्न सक्दिनन्। सुन्दा अचम्म लाग्न सक्छ, सेक्समा पुरुषको तुलनामा महिलाले त्यसको आत्मीय आनन्द लिन्छन्। त्यसमा प्रेमको अनुभव बढी महिलाले नै गर्छन्। उनलाई सेक्सको चरम अवस्थाबाहेक अरू कुराको बोध हुँदैन। महिलाहरू अश्लील हुँदैनन्, त्यसैले उनीहरू यसमा बढी आनन्द लिन्छन्। जो बढी अश्लील छ, उसले सेक्सको गहिराइ र त्यसमा उत्पन्न प्रेम बुझ्न सकेको हुँदैन। कामवासना प्रेमको पूरक हो भन्ने कुरा श्लील महिलालाई भन्दा बढी अरूलाई थाहा हुँदैन। 

त्यसैले स्त्रीका धेरै नग्न चित्र बनाइन्छन्। किनभने पुरुषलाई स्त्री देहमा रुचि छ, महिलालाई छैन। सामान्य स्त्री कहिल्यै पनि नाङ्गो पुरुषको कल्पना गर्दिनन्, तर पुरुष ? संसारमा जति पनि महिलाका चित्र बनेका छन्, ती पुरुषको बिना प्रेमको सेक्सबाट उत्पन्न इच्छाहरू हुन्। कलात्मक चित्र त्यसको अपवाद हुन सक्छ। जबसम्म सेक्समा शरीरको कल्पना रहन्छ, तबसम्म त्यो सेक्स दिव्य वा प्रेमपूर्ण हुन सक्दैन, तर जब कुनै व्यक्ति कसैप्रति प्रेमभावले ओतप्रोत हुन्छ, त्यो व्यक्ति नजानिँदो किसिमले त्यसप्रति कामवासनाले भरिन थाल्छ। कामवासनाको अर्थ त्यसको गहिराइलाई प्राप्त गर्नु हो। बाहिरी आकर्षणबाट त्यो गहिराइ प्राप्त गर्न सकिँदैन। 

त्यसको कुनै चरण हुन्छ। जब कोही व्यक्ति कसैप्रति अति प्रेमभावले भरिन्छ, उसका लागि उसलाई प्राप्त गर्ने चाहना हराउँछ। उसको प्रेम नै कामवासना तिरोहित गर्ने साधन बन्न पुग्छ। कसैलाई लाग्न सक्छ, प्रेमले सेक्सको चाहना तिरोहित हुन्छ। होइन, प्रेमको तीव्रताले यति ठूलो फड्को मार्छ कि सेक्सको चाहना नै बाँकी रहदैन। अंग्रेजी शब्द सेक्सले एक अर्कामा विभाजित गर्छ, त्यसमा दुईको प्राप्त गर्ने चाहना हुन्छ। जब प्रेमभित्र सेक्स बाँकी रहँदैन, त्यसबेला दुवैको छुट्टाछुट्टै चाहना बाँकी रहँदैन, दुवै प्रेममा हुन्छन्, अर्थात् गहिरो प्रेमको अवस्थामा सेक्स निरर्थक बन्न पुग्छ। 

अब हामी वास्तविक प्रेमका विषयमा प्रवेश गर्दैछौं। जब कुनै युवाले (स्त्री होस् वा पुरुष) कसैसँग कामवासनाको पूर्ति गर्छ, त्यसबेला लाग्न सक्छ, सेक्सले एक-अर्कालाई जोड्ने काम गर्‍यो। अझ नजिक बनायो। क्षणिक अर्थमा सेक्सले दुई व्यक्तिलाई जोड्छ, जोडिएको भ्रम दिन्छ। यद्यपि गहिरो अर्थमा त्यसले एक-अर्कालाई टाढा पुर्‍याउँछ। प्रत्येक शारीरिक सम्पर्कपछि मानिस केही हतासा, निराशाको घेरामा परेको महसुस गर्छ। अघिको तीव्र प्रेम केही मिनेटको संसर्गले अचानक घटेको महसुस हुन्छ। अघिको पि्रयतम वा प्रेयसीभित्रको स्वप्नील यात्रा केही समयका लागि तिरोहित हुन्छ। त्यसो भए अघिको प्रेम कहाँ पुग्यो ? सेक्सले प्रेमलाई तृप्त गर्‍यो कि प्रेमबाट टाढा पुर्‍यायो। 

दुई प्रेमी-प्रेमिकाको अनुहारमा सेक्स गर्नुअघिको आभा रहँदैन। सेक्सपछि दुवैले एक-अर्कालाई स्नेह गर्छन् तर माया गर्न सक्दैनन्। प्रेम र स्नेह फरक कुरा हुन् तर उनीहरूको स्नेह त्यही प्रेम हो भन्ने भ्रम पर्न सक्छ। प्रेम त समागममा बगिसक्यो। जस्तो कुनै फलको गुदी थाहा नपाई निस्कियो तर बोक्रा छँदैछ। प्रेमी प्रेमीका त्यसैलाई फल मान्ने भूल गर्छन्। यसरी प्रेमको वास्तविक रूप खण्डित हुन्छ। बाँकी हुनुपथ्र्यो, सेक्सअघिको प्रेम। गम्भीर प्रार्थना, जीवन सौन्दर्यको, तर स्नेह मात्र रहन गयो, एक अर्कामा। यसरी सेक्सले प्रेम खण्डित गर्‍यो, गरिरहनेछ। यो अर्थमा धेरै ऋषिमुनि वा गुरुहरूले कामवासनालाई बर्जित गरेका हुनसक्छन्। तर म भन्छु— यदि कसैले सेक्स नगरी प्रेमको महत्व कसरी बुझ्न सक्छ ? जबकि भन्नुपर्छ, पहिले प्रेमको अनुभव गर। त्यसपछि सेक्सको अनुभव गर। त्यसपछि प्रेम र सेक्सबीचमा आएका अप्ठयाराहरूको अनुभव गर। अनि बल्ल बुझ, तिम्रो जीवन कहाँ अड्किएको छ, प्रेममा वा सेक्समा ? 

सारा अस्तित्व प्रेममय छ। वृक्षले प्रेम गर्छ पृथ्वीलाई। प्रेम नगर्ने हो भने पृथ्वीमा वृक्ष सम्भव थिएन। सामान्य व्यक्तिलाई लाग्न सक्छ, जराले पृथ्वी र रूखबीचको अस्तित्वलाई कायम राख्छ, तर गम्भीर भएर विचार गर्ने हो भने जरा र पृथ्वीबीच प्रेमको सम्बन्ध छ। सम्पूर्ण अस्तित्व, सम्पूर्ण ब्रम्हाण्ड घुम्छ प्रेमका कारण। एक्लो सत्य निकै रूखो हुन्छ। त्यसमा प्रेम जोड्ने हो भने सत्य पनि रमाइलो लाग्न सक्छ। 

केवल एक प्रेमपूर्ण आलिंगनमा पहिलो पटक देहले आकार लिन्छ। प्रेमिकाले तिम्रो देहलाई आकार दिन्छिन्। उनको आलिंगनले तिमी प्रेमपूर्ण छौ भन्ने सन्देश दिन्छ। हिजोसम्म तिम्रो देश मरुस्थल थियो, प्रेमीको एक आलिंगनले त्यो मरुस्थलमा धान फल्न थाल्छ। तिम्रो प्रेमीको प्रेमले तिमी हुनुको अस्तित्व प्रदान गर्छ। उसको प्रेमले आफू हुनुको अर्थ दिन्छ। आफू अर्थात् आत्म हुनुको गौरव प्रदान गर्छ। कसैले तिमीलाई पहिलो पटक प्रेम गर्न पुग्यो भने तिमी कति सजग र सचेत हुन्छौ, कुनै न कुनै बेला सबैले अनुभव गरेकै कुरा हो। यो अनुभव न मन्दिरमा गएर गरेको कुनै प्रार्थनाले दिन्छ, न कुनै विशेष समाजसेवाले। देहले पहिलो पटक ईश्वरको द्वार खुलेको अनुभव गराउँछ। 

आलिंगनले एक अर्काको शरीरलाई बुझ्न मद्दत गर्छ। कामवासना अर्काको देह बुझ्ने माध्यम बन्न पुग्छ। यही प्रक्रिया अघि बढ्दै जाँदा तिमीलाई तिम्रो शरीरका कारण प्राप्त हुने अनुभवलाई गाढा बनाउँदै लान्छ। कामवासनाले तिमीलाई देहधारी बनाउँछ। प्रेमले तिमी शरीरमात्र होइनौ, अरू केही हौ भन्ने अनुभूति दिन्छ। अर्थात तिमी आत्मा हौ भन्ने भावना विकसित गराउँछ। पहिलो घेरा तिमी शरीर हौ भन्ने भावना, दोस्रो घेरा तिमी आत्मा हौ भन्ने भावना। कामवासनाले पहिलो घेराको अनुभूति दिन्छ, प्रेमले दोस्रो घेराको अनुभूति दिन्छ। अब तेस्रो घेरातर्फ अघि बढ्ने हो भने प्रार्थना, ध्यान तर्फ लाग्नुपर्छ। यसले तिमीलाई ब्रम्हसम्म पुग्न मद्दत गर्छ। 

यी तीन चरण छन्, कामवासनाबाट प्रेम अनी प्रार्थनासम्म पुग्न। प्रेमका धेरै आयाम हुन सक्छन्। प्रेम ऊर्जा हो। यो ऊर्जा युवा अवस्थामा कतै गएर पोख्ने कि ऊर्जाको क्षमतालाई महसुस गर्ने ? भन्ने कुरा व्यक्तिको आफ्नो हातमा हुन्छ। 

प्रेमः आनन्दको अभिव्यक्ति

धन हुने व्यक्तिले धन दिन सक्छ, गरीवले दिन सक्दैन। रिसाहा व्यक्तिले रिस नै दिन्छ, प्रेम दिन सक्दैन। जो व्यक्तिसँग प्रेम छ, उसले घृणा दिन सक्दैन। प्रेम गर्ने व्यक्तिले प्रेमको माग गर्दैन, ऊसँग भएको कुरा उसलाई किन चाहियो र ? यो संसारमा त्यो व्यक्तिले मात्र प्रेम दिन सक्छ, जसलाई अरूबाट प्रेम चाहिएकै छैन। महावीर, बुद्ध यस्ता व्यक्ति हुन् जसले मानिसलाई प्रेम मात्र दिन सक्थे। 

प्रेमको वास्तविक अर्थ हो दिनु। प्रेम गर्नेले गुनासो गर्दैन, केवल प्रेम गर्छ। यदि कसैले म तिमीलाई प्रेम गर्छु भन्छ, तर यसो भएन, उसो भएन भनेर गुनासो गर्छ भने बुझ्नुपर्छ, यसले तिमीलाई प्रेम गर्दैन। तिमीले प्रेम गरे म प्रेम गर्छु नगरे गर्दिनँ भन्यो भने त्यो प्रेमी होइन, व्यापारी हो। व्यापारमा लेनदेन हुन्छ, प्रेममा होइन। 

आज स-साना कुरामा प्रेमी-प्रेमीका छुट्टिन्छन्। आखिर किन ? कारण के भने दुईबीचको लेनदेनमा गडबड भयो। यसको अर्थ हो, मैले प्रेमी वा प्रेमीकासँग जति र जसरी चाहेको थिएँ, अर्कोले त्यति र त्यसरी दिन सकेन। प्रेमीले सोच्यो मैले दिएँ... तर अर्कोले त्यति प्रतिफल प्राप्त गर्न सकेन। यतिमै सबै प्रकारको लेनदेन बिग्रन्छ। वाहिर हेर्दा प्रेम बिछोड देखिन्छ, तर भित्री कुरा के हो भने दुवैबीच लेनदेन बिगि्रएको रहेछ। जहाँ प्रेमको अर्थ लिनु होइन, दिनु मात्र रहन्छ, त्यसबेला प्रेम टुट्दैन, बरु झाँगिदै जान्छ। जुन स्थानमा प्रेमलाई दिने वस्तुका रूपमा बुझिन्छ, त्यस्तो स्थानमा ईश्वरले चाहेर पनि त्यो प्रेम टुटाउन सक्दैनन्। प्रेममा कुनै कन्डिसन हुनुहुँदैन, निःसर्तता नै प्रेमको वास्तविक रूप हो। 

प्रेममा त्यो व्यक्ति पर्छ, जो आनन्दित हुन्छ। जो दुःखी छ, त्यस्तो व्यक्तिले अरूलाई प्रेम दिन सक्दैन, उसले प्रेमको माग मात्र गर्छ। प्रेम यसकारण माग्छ कि उसको दुःख सकियोस्। आखिर प्रेमको माग किन गरिन्छ ? दुःख हटाउन। सबै दुःखी व्यक्ति प्रेम चाहन्छन्, अरूबाट। यदि कसैले भन्छ म तिमीलाई प्रेम गर्छु, त्यसबेला बुझ्नुपर्छ ऊ भित्र दुःखी छ। दुःखी व्यक्तिबाट प्रेमको आशा राख्नु मुर्खता हो। 

म एकपल्ट फेरि सम्झाउँछु। यसलाई राम्रोसँग बुझ। कोही व्यक्ति दुःखी छ, उसले प्रेमको माग गर्छ। यदि कोही व्यक्ति सुखी छ भने उसले तिमीलाई आनन्दित तुल्याउँछ। तिमीसँग प्रेमको माग गर्नु र तिमीलाई आनन्द दिनु दुई फरक कुरा हुन्। जो व्यक्ति आनन्दित छ, उसले दुःखीलाई पनि सुखी तुल्याउँछ। उसको छेउमा आनन्द बषिर्रहेको हुन्छ। तिमी भिखारीसँग जीवन बिताउन चाहन्छौ कि आनन्दसँग, त्यो तिम्रो निर्णय हो।

No comments:

Post a Comment