Thursday, February 16, 2012

समलिंगीहरूको प्रेम


अमेरिकाको क्यालिफोर्निया राज्यमा 'गे' र 'लेस्बियन' विवाहलाई अनुमति दिएसँगै त्यहाँ समलिङ्गी विवाह गर्नेहरूको ताँती नै लाग्यो । छिमेकी मुलुक भारतमा पनि गत वर्षको २ जुलाईका दिन १ सय ६० वर्ष पुरानो कानुनलाई तोडेर समलिङ्गीलाई साथै बस्न र विवाह गर्ने मञ्जुरी अदालतले दिएको छ । विश्वका १ सय २६ देशमा यस्तो सम्बन्धलाई मान्यता प्रदान गरिएको छ भने विश्वभरि ४० लाख 'गे' तथा २५ लाखजति 'लेस्बियन' छन् ।

आखिर समलैङ्गकिता के हो ? 'गे' र 'लेस्बियन' के हो ? समलैङ्गकिताअन्तर्गत काम-वासना वा यौनसन्तुष्टि समान लिङ्गको पुरुष वा महिलाहरूले लिन्छन् । मनोवैज्ञानिकहरू भन्छन्- यो क्रिया अनुवांशिक गुणका कारण पुस्तौँपुस्तादेखि चलिआएको छ भने केहीले यसलाई विकृत मानसिकताको द्योतक मान्छन् । यद्यपि समलैङ्गकिता नयाँ विषय होइन तर पनि यो विषय उपेक्षाको सिकार बनेको छ । मानिसहरू भन्छन्- समलैङ्गकि सम्बन्ध असामान्य सम्बन्ध हो । जुन विषय असामान्य हुन्छ, त्यो विषय समाजको उपेक्षा र अपहेलनाको कारण बन्छ ।

हाम्रो समाजमा कतिपय समलिङ्गीले चुपचाप आफ्नो सम्बन्ध बनाएका छन् । धेरै अभिभावकलाई थाहा छ, उनीहरूका छोराछोरी यस्तो कार्यमा संलग्न छन् तर पनि उनीहरू विवश छन्, किनभने जब यस्तो सम्बन्ध हुन्छ तब यो पनि एउटा नशाजस्तो रोगका रूपमा विकास हुन्छ । पहिले-पहिले विवाहको कुरा चल्दा आमाबुबा आफ्ना छोराछोरीका लागि योग्य र संस्कारवान् बधू तथा ज्वाइँ खोज्थे । पछि गएर छोराछोरी आफ्नो खुसीले प्रेमविवाह गर्न थाले । पछिपछि कतिपय 'गे' र 'लेस्बियन' बन्न थाले । अबका आमाबुबाले यस्ता छोराछोरीसँग के भन्नेछन् भने, 'बाबु तिमीहरू विवाह गर, बढी उमेरकी केटी भए पनि हुन्छ, विधवा-विदुर हुन सक्छन्, अर्को जातको पनि चल्छ तर प्लिज केटा-केटीसँग नै विवाह गर ।' 

यस्तो लतमा परेका व्यक्तिका अभिभावकहरूले कहिलेकाहीं घर-समाजको डर देखाएर आफ्नो हैसियत मिल्ने युवक-युवतीसँग विवाह गर्न जबर्जस्ती पनि गर्छन् तर यस्तो जबर्जस्ती विवाह सफल हुँदैन । दुवैको जीवन असफल हुनसक्छ । यस्तो स्थितिमा पीडितका आमाबुबालाई पनि 'काउन्सिलिङ' आवश्यक हुन्छ ।

जुनसुकै मानिसले समाजभन्दा बेग्लै केही गर्न खोज्छ भने त्यसले समाजको वक्रदृष्टिको सामना गर्नुपर्छ । धर्मका ठेकेदारहरू सोच्छन्- समाज जुन स्थितिमा छ, त्यो त्यस्तै रहोस् तर समयको निरन्तर प्रवाहका कारण व्यक्तिको सोचमा परिवर्तन आउँछ । त्यसकारण १ सय वर्षपहिले हाम्रो समाज जस्तो थियो आज त्यस्तै छैन, अर्को १ सय वर्षपछि पनि समाजको अवस्था अर्कै हुन्छ ।

समलैङ्गकिताको विषयमा बहस र उपेक्षाको अर्को कारण के पनि हो भने हाम्रो समाजमा मानिसहरू यौनजस्तो विषयमा खुलेर छलफल गर्दैनन् । हाम्रो समाजमा यस्ता विषयलाई गोप्य मानिन्छ र जुन विषय गोप्य हुन्छ, त्यो विषयमा धेरै कौतूहलता हुन्छ । सेक्स हरेक व्यक्तिको शरीरको माग हो तर पनि यो विषय गौणजस्तो मानेर, लाज सम्झेर, वर्जित कुरा मानी हामी यसलाई टाढा राख्छौँ । यस विषयमा कुरा गर्नेलाई हामी नकारात्मक दृष्टिले हेर्छौं । यसकारण सेक्ससँगै समलैङ्गकितालाई पनि नकारात्मक रूपमा हेर्न थालियो ।

समाजका सबै धर्मले यो विषयमा असहमति जनाएका छैनन् तर हरेक धर्मका धर्मगुरुले यस्ता सम्बन्धलाई पाप भनेका छन् । समलैङ्गकिता समाज व्यवस्थाको विरुद्ध छ, यो पाप र अनैतिक कार्य हो । इसाई धर्ममा यस्तो सम्बन्धलाई पापका रूपमा लिइएको छ । हिन्दू धर्ममा अलिकति फराकिलो सोच छ तर धर्मगुरुहरूले यसलाई विकृत मानसिकताका रूपमा लिएका छन् । आजको आर्थिक मन्दीको चापमा धेरै युवावर्ग उच्च शिक्षा र रोजगारीका लागि घरबाट टाढा गएर बस्नुपर्छ । परदेशमा कुनै आफन्त नातेदार हुँदैनन् । पैसा बचाउने सुरमा साथीसँग एउटै कोठामा बस्नुपर्छ । यस्तै सुख र दुःखको बेला कुनै समय यस्तो सम्बन्धको सुरुवात हुन थाल्छ । पछि-पछि गएर यस्तो सम्बन्ध अझ प्रगाढ हुन्छ तर अरूले चाल पाउँदैनन् । यस्तो सम्बन्ध कहिलेकाहीं आपसी सहमतिले बन्छ भने कहिलेकाहीं डर, धम्की देखाएर पनि हुन्छ ।

हरेक युवाले प्रेमको परिणति विवाहलाई मान्छन् । विवाहको उद्देश्य गृहस्थीसँगै सन्तान प्राप्ति पनि हुन्छ तर सन्तानका लागि महिला र पुरुष दुवैको आवश्यकता हुन्छ । अहिलेसम्म प्रकृतिले जन्म दिने अधिकार महिलालाई मात्र दिएको छ । समलिङ्गी सम्बन्धमा प्रेम त बढी हुनसक्छ तर सन्तान प्राप्ति असम्भव हुन्छ । संसारका प्रत्येक व्यक्तिले सन्तानको चाहना गर्छन् तर यस्तो समलिङ्गी सम्बन्धको उपहारस्वरूप सन्तान प्राप्ति हुँदैन । यसको जवाफमा समलिङ्गीहरू भन्छन्, 'यो संसारमा धेरै अनाथ शिशु छन्, हामी कुनै अनाथ शिशुलाई माया दिएर आफ्नो सन्तानको कमी र रहरलाई पूर्ण गर्न सक्छौँ' तर विचार गर्नुस्- के आमा-बाबुको जस्तो निश्चल प्रेम यस्तो जोडीले दिन सक्छ ? आमाजस्तो मन कसैको हुँदैन । आउँदा दिनमा समलिङ्गीहरूको समस्या यसरी नै बढ्दै गयो भने मनुष्य जाति नष्ट हुने, संहारसम्म पुग्न सक्छ ।

लोकतान्त्रिक समाजमा हरेक व्यक्तिलाई आफ्नो विचार राख्ने, जीवन आफ्नै तरिकाबाट बाँच्ने अधिकार छ । कुन व्यक्ति आफ्नो बेडरुममा के गरिरहेको छ, यो उसको निजी कुरा हो । अरूलाई केही हानि-नोक्सानी नपुर्‍याई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार सबैले पाएका हुन्छन् । समलैङ्गकिता पनि एउटा भावना हो जसभित्र पनि माया हुन्छ । मनोवैज्ञानिकहरू भन्छन्, 'समलिङ्गीहरूको मस्तिष्क अन्य सामान्य मानिसको भन्दा फरक हुन्छ ।' वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने महिला समलिङ्गीहरूको मस्तिष्कमा 'गे' कोशको कमी हुन्छ । जुन कारणले ऊ सामान्य महिलाको अपेक्षा आफूलाई पुरुषका रूपमा बुझ्छन् । यस्तै पुरुष 'गे' को मस्तिष्क सामान्य महिलाको मस्तिष्कको वरिपरि हुन्छ, यस्ता पुरुषको यौन आकर्षण सामान्य महिलाजस्तो हुन्छ । 
यस विषयमा भारत र अन्य देशमा पनि धेरै चलचित्र बनेका छन् जसमध्ये केहीले त समस्याको खिल्ली उडाएका छन् । अहिले संसारभरका समलिङ्गीहरू खुलेर बाहिर आएका छन् । उनीहरू नारा, जुलुसद्वारा आफ्नो एकजुटता प्रदर्शित गर्छन् । समलिङ्गीहरूका अगुवाहरू भन्छन्, 'अब समलिङ्गीसँग सम्बन्धित विषयमा पर्दा हालेर काम चल्दैन । किनभने यो व्यक्तिगत स्वतन्त्रतामाथि हमला र कुठराघात हो । विश्वका धेरै देशमा यस्तो सम्बन्धले मान्यता प्राप्त गरिसकेको छ भने अरू देशमा किन यसलाई अछुतो मान्ने ? समलिङ्गीहरूलाई आफ्नो अभिव्यक्ति दिने पूर्ण अधिकार छ । यस्तो सम्बन्धको एउटा फाइदा के छ भने यिनीहरूबीच धेरै कलह, झैझगडा अनि एक-अर्कासँग बढी अपेक्षा हुँदैन । यिनीहरू आफ्नै दुनियाँमा रमाउँछन् ।

यति हुदाहुँदै पनि समाज मन खोलेर यस्तो सम्बन्धलाई स्वीकृति दिन तयार छैन । योग गुरु बाबा रामदेवले यस्ता व्यक्तिलाई योग र संयमसँगै काउन्सिलिङद्वारा सुधार्न सकिन्छ भनेका छन् । जे होस्, हरेक व्यक्तिलाई आफ्नो जीवन आफूखुसी बिताउने अधिकार हुन्छ तर पनि समाजको नियममा बाँच्न सक्नु राम्रो ।

No comments:

Post a Comment